काठमाडौं । बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि छिटोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब लगानीकर्ताले छिटोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा भने फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाविस) का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ ।
कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।