काठमाडौं । आज सेयर बजारमा लगातार दोहोरो अंकले बढेको छ । सोमबार २५ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । पछिल्ला दुई दिनमा नेप्से ४२ अंकले बढेको छ । आज नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको हो ।
आज २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक पनि १ प्रतिशतले बढेको छ ।
आज कारोबार भएका २२८ कम्पनीमध्ये १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली १२ करोड र जीवन विकास लघुवित्त ११ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने युनाइटेड इदी मार्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सामलिङ पावर ८.५२, तेह्रथुम पावर ६.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.०४, वरुण हाइड्रोपावर ५.४३, घलेम्दी हाइड्रोपावर ५.१५, आइसीएफसी फाइनान्स ४.८४, न्यादी हाइड्रोपावर ४.७०, एभरेष्ट बैंक, बुद्धभूमि नेपाल, गोर्खा फाइनान्स, शिखर इन्स्ष्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र मध्यभोटेकोशीको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा आज सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यी कम्पनीको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ ।
३ करोड ९० लााख बोनस शेयर सुचिकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस शेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस शेयर, बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस शेयर र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।