काठमाडौं । फागुन २२ गतेदेखि आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । लगानीकर्ताले चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन्।
यो हकप्रदमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो ।
हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।