काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको कर्जा प्रवाहको वृद्धिदर निक्षेप वृद्धिदरको तुलनामा बढी देखिएको छ । निक्षेप वृद्धिदरको तुलनामा कर्जा प्र्रवाहको वार्षिक वृद्धिदर हरेक वर्ष बढी भएको देखिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गरेको एक अध्ययनअनुसार २०७० यता आव २०७६–७७ मा बाहेक हरेक वर्ष कर्जाको वृद्धिदर निक्षेप संकलनको तुलनामा बढी देखिएको छ ।
आव २०६९–७० मा १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह २१ प्रतिशतले बढेको थियो । यस्तै, गत आव २०७७–७८ पनि २१ प्रतिशतले निक्षेप संकलन बढ्दा कर्जा प्रवाहको वृद्धिदर भने २८ प्रतिशत थियो । आव २०७६–७७ बाहेक कर्जा वृद्धिदर र निक्षेप वृद्धिदरको अवस्था यस्तै नै रहेको अध्ययनले देखाएको छ ।
आव २०७६–७७ मा भने कर्जाको वृद्धिदर कम देखिएको छ । त्यो वर्ष १७ प्रतिशतले निक्षेप बढ्दा कर्जा प्रवाह भने १२ प्रतिशत मात्रै छ । त्यस आर्थिक वर्षमा कोरोना नियन्त्रण गर्न बन्दाबन्दी लगाउँदा कर्जा प्रवाहमा संकुचन आएको हो ।
यसरी हरेक वर्षजसो निक्षेप संकलनभन्दा कर्जाको वृद्धिदर निरन्तर बढी हुनुको कारण अर्थतन्त्रको विस्तार भएको हो भन्ने विज्ञहरूको विश्लेषण रहेको छ । बैंकहरूले बढी आक्रामक भएर ऋण लगानी बढाउँदा पनि यस्तो देखिएको उनीहरूको भनाइ छ ।
यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।