काठमाडौँ । भुक्तानी गर्न बाँकी रहेको कोरोना बिमा रकममध्ये करिब सावा ५ अर्ब रुपैयाँ तिर्न बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी राजी भएका छन् । अर्थ मन्त्रालयको निर्देशनअनुसार बिमा समितिले सरोकारवालाहरूसँग गरेको छलफलमा सरकारले भुक्तानी गर्न बाँकी रकमको ४५ प्रतिशत यी निकाय (बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनी) ले बेहोर्ने विषयमा सहमति भएको हो ।
यो विकल्प नयाँ भने होइन । यसअघि गत असोजमा पनि बिमा समितिले अर्थ मन्त्रालयलाई दुई विकल्प पठाएको थियो । ती विकल्पमा यो विषय पनि उल्लेख थियो । त्यो विकल्पमा अर्थ मन्त्रालयले थप छलफल नै गरेन । बरु गत पुस अन्तिम साता बाँकी भुक्तानी सम्बन्धमा विकल्प पठाउन फेरि निर्देशन दियो । ‘गत असोज २५ मा बिमा समितिले पठाएको पत्रमा उल्लेख गरिएका कोरोना बिमा भुक्तानीका विकल्पमा थप उपाय तथा सुझाव भए अध्ययन गरी पठाइदिन निर्देशानुसार अनुरोध छ,’ अर्थ मन्त्रालयले पठाएको पत्रमा भनिएको थियो ।
त्यसपछि बिमा समितिले सरोकारवालाहरूसँग पुनः छलफल गर्यो । छलफलमा सरोकारवालाहरूबाट तिर्न बाँकी रकममध्ये ४५ प्रतिशतसम्म दायित्व वहन गर्न सक्ने धारणा आएपछि त्यही विकल्प अर्थ मन्त्रालय पठाइएको स्रोतले बताएको छ । ‘समितिले गत शुक्रबार नै विकल्प पठाइसकेको छ,’ स्रोतले भन्यो, ‘विकल्पमा भुक्तानी गर्न बाँकी रहेको रकममध्ये करिब सवा ५ अर्ब रुपैयाँ बिमा समिति, बिमा कम्पनी र पुनर्बिमा कम्पनीले बेहोर्ने भन्ने उल्लेख छ ।’
यो विकल्पमा अर्थ मन्त्रालय तयार भए सरोकारवालाहरूले तत्कालै रकम भुक्तानी गर्ने स्रोतको दाबी छ । ‘झन्डै आधा रकम तिर्न सरोकारवाला तयार छन् । यसअघि विकल्प पठाउँदा उनीहरू त्यति तयार थिएनन्,’ स्रोतले भन्यो, ‘यसपालिको छलफलमा उनीहरूबाट पूर्ण प्रतिबद्धता आएको छ ।’ समितिले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा यसअघि पठाएको दुई विकल्प पनि उपयुक्त रहेकाले ती विकल्पअनुसार रकम भुक्तानीको ढाँचा बनाउँदा पनि आफूहरूलाई मान्य हुने बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘योभन्दा अर्को उपयुक्त विकल्प छैनन् । यी विकल्पका आधारमा सरकारले एउटा भुक्तानी मापदण्ड बनाउनु उपयुक्त हुन्छ,’ उनले भने ।
यो खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।