काठमाडौं । बलेफी हाइड्रोले माघ २७ गते बिहीबारदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्नेछ। जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस) का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ ।
त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन हुने छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ।
यो आईपीओका निष्कासन बन्द छिटोमा फागुन १२ गते बन्द हुनेछ। उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।