Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्र बैंकले कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै

राष्ट्र बैंकले कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै

दैनिकी न्यूज

१२, पौष २०७८
राष्ट्र बैंकले कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै
images

काठमाडौं । बजारमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गर्ने तयारी गरेको छ । उच्च आयात भई वैदेशिक मुद्रा सञ्चिती र शोधानान्तर स्थितिमा दबाब बढ्दै गएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा लगानी सम्बन्धी मार्गनिर्देशनमार्फत यसमा कडाइ गर्न लागेको हो ।

राष्ट्र बैंकले आइतबार चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरुसँग सुझाव मागेको छ । चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमनमा एकरुपता कायम गर्ने, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउने र कर्जा सदुपयोगिता हेर्ने आधारभूत पद्धति विकास गर्नका लागि समेत मार्गदर्शन जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

मार्गनिर्देशनको मस्यौदामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा वार्षिक अनुमानित कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जाको सीमा कायम गर्नुपर्ने उल्लेख छ । एक वष भन्दा कम अवधिको यस्तो कर्जा नवीकरणयोग्य हुनेछ ।

त्यस्तै स्थायी चालु पुँजीका लागि भने कम्तीमा ५ वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ । तर यसका लागि पाँच वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी बैंकको आफ्नै चालु पुँजी कर्जा सम्बन्धी नीति बमोजिम गर्नुपर्नेछ ।तर तीन वर्ष पुरानो भएका कम्पनीहरुले भने आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीति बमोजिम नै सीमा निर्धारण गर्न सक्ने प्रावधान छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले चालु पुँजी कर्जाको नवीकरण गर्दा कर्जाको सदुपयोग र आवश्यकताको विश्लेषणका आधारमा गर्नुपर्नेछ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाले कर्जा सुरक्षणका लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन समेत स्पष्ट खुलाउनुपर्ने छ ।

चालु पुँजीको लागि अचल सम्पत्तिको सुरक्षणको अनिवार्य छैन । तर बैंकहरुले प्रत्येक तीनरतीन महिनामा चालु पुँजी कर्जाको अनुगमन तथा व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । मौज्दातमा रहेको सामानको भौतिक निरीक्षण गर्दा कर्जा दुरुपयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असुलीको प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था समेत मस्यौदामा प्रस्ताव गरिएको छ । चालु आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजीमा ९ खर्ब ३१ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - ०७:३७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology