काठमाडौं । सोमबार नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड र एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
नेपाल बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ। १४ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।
त्यस्तै सिद्धार्थ बैंकले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सिद्धार्थले हाल कामय १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
एनआईसी एशिया बैंकले पनि गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल १५.७८९४७ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७८९४७ प्रतिशतले हुन आउने ९ करोड १२ लाख ९४ हजार ७७९ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव पनि बैंकले गरेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।