Logo

शनिवार, आश्विन २४ गते २०८३

images

वित्तीय संस्थाको निक्षेपको असर सहकारीमा पर्न थाल्यो

वित्तीय संस्थाको निक्षेपको असर सहकारीमा पर्न थाल्यो

दैनिकी न्यूज

५, कार्तिक २०७८
वित्तीय संस्थाको निक्षेपको असर सहकारीमा पर्न थाल्यो
images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको असर सहकारीमा परेको छ। बैंकहरूले अस्वाभाविक ढंगले निक्षेपको ब्याज बढाएपछि सहकारीबाट चार अर्ब रकम बाहिरिएको छ।

बैंकहरूले निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिएपछि सहकारीबाट रकम झिकिएको हो। प्रारम्भिक सहकारीका साथै राष्ट्रिय सहकारी बैंक, नेपाल तथा ऋण सहकारी संघ (नेफ्स्कुन) बाट पैसा झिकेर बढी ब्याज दिने बैंकमा पैसा गएको हो। सहकारीका अधिकांश सदस्य बैंकका ग्राहक पनि छन्। बैंकले राम्रो अफर ल्याएपछि सहकारीबाट अस्वाभाविक ढंगले निक्षेप झिकिएको सहकारीकर्मी स्वीकार्छन्।

नेफ्स्कुनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक ढंगले निक्षेपमा ब्याज बढाएपछि सहकारीको पैसा विथड्र भएको बताए। धमाधम सहकारीबाट पैसा झिकिन थालिएपछि बैंक र नेफ्स्कुनले सहकारीको पैसा सहकारीमै राख्न सहकारीकर्मीलाई आह्वान गरेका छन्।

‘सहकारीमा रहेका बचत झिकेर बैंकमा जाने काम भयो’ ढकालले भने, ‘सहकारीका पैसा सहकारीभन्दा बाहिर नजाने रणनीति अपनाएका छौं।’बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक ढंगले निक्षेप बढाएपछि नेपाल राष्ट्र बैंकले मंगलबार राति नै ब्याजदर नबढाउन निर्देशन जारी गरेको थियो। बैंकहरूले औसतमा निक्षेपमा ८.४२ प्रतिशत ब्याज दिँदै आएका थिए।

नेफ्स्कुनका कार्यवाहक अध्यक्ष ढकाल भन्छन् ‘अझै सहकारीको धेरै पैसा बैंकमा जान खोजेको थियो तर अहिले रोकिएको छ।’ बैंकहरूले तरलता व्यवस्थापन भएपछि निक्षेपको ब्याज घटाउने निश्चित भएकाले सहकारीकर्मीलाई हतारिएर सहकारीमा राखिएको पैसा बैंकमा नलैजान ढकाल आग्रह गर्छन्। ‘झिल्को आउँदैमा हतारिन हुँदैन’ उनले भने,‘बैंकले बढी ब्याज दिए भनेर सहकारीकर्मी कुद्नु हुँदैन।’

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीको पैसा बैंकमा नगएको दाबी गर्छन्। बैंकहरूको निक्षेप नबढेकाले एकले अर्को बैंकको निक्षेप तानेको उनको भनाइ छ। ‘सहकारीबाट दुई/चार अर्ब बाहिरियो होला’ उनले भने,‘तर सहकारीको पैसा बैंकमा गएको भए बढ्ने थियो।’ सहकारीले प्रविधिमार्फत सेवा दिन नसकेकाले चाडपर्वको बेला झिकेर खर्च गरेको उनले बताए। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - ०८:०१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology