काठमाडौं । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि यसअघि जारी गरेको ब्याजदर संशोधन गर्दै एकल अंकमा झारेका हुन् ।
वाणिज्य बैंक मात्र नभएर विकास बैंक र फाइनान्स कम्पनीले पनि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन्, जुन बुधवार र बिहीवारदेखि नै लागू भइसकेको छ ।
संशोधित ब्याजदरअनुसार अब वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिनेछन् । यसैगरी विकास बैंकहरूले ९ दशमलव ५० र फाइनान्स कम्पनीहरूले ९ दशमलव ६० प्रतिशतको अधिकतम ब्याजदर निर्धारण गरेका छन् ।
बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै भएपछि कात्तिकका लागि ७ वाणिज्य बैंकले मात्र दोहोरो अंकको निक्षेप ब्याजदर निर्धारण गरेका थिए । त्यसमा एनआईसी एशिया बैंकले सबैभन्दा बढी अर्थात् ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याएका थिए । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर ह्वात्तै बढाएका थिए ।
खासमा तरलताको अभाव भएपछि बैंकहरूले असोजदेखि ब्याजदर बढाउन थालेका थिए । असोजमा सनराइज बैंकले मात्र दोहोरो अंकको अर्थात् १० दशमलव ०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कात्तिकमा आएर सनराइजले ब्याजदर एकल अंकमा ल्याएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफूखुशी ब्याजदर बढाएर दोहोरो अंकमा पु¥याएका थिए ।
यसरी बैंकहरूले जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले गत मंगलवार मासिक रूपमा १० प्रतिशतले मात्रा ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर तत्काल संशोधन गर्न पनि निर्देशन दिएको थियो । त्यतिले मात्रा नपुगेर राष्ट्र बैंकका अधिकारीहरूले बुधवार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशकहरूलाई फोन नै गरेर ब्याजदरका सीमा नै तोकिदिएका थिए । अहिले आएर बैंक तथा वित्तीय संस्थाहरूले सोहीअनुसार नै नयाँ ब्याजदर लागू गरेका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको नीतिअनुसार निक्षेपको ब्याजदर एकल अंकमा झारेको बताए । ‘बैंकहरूले ब्याजदर बढाउन थालेपछि ब्याजदर स्थिरताको बहस उठ्यो । ब्याजदर स्थिरताका लागि दबाब पनि आउन थाल्यो,’ उनले भने, ‘त्यस अवस्थामा राष्ट्र बैंकबाट पनि ब्याजदर नियन्त्रण गर्न निर्देशन आयो । त्यसपछि हामीले ब्याजदर संशोधन गरेका हौं ।’
ब्याजदर घटेसँगै अब उद्योग व्यवसाय गर्नेहरूलाई सहजता प्रदान हुने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । यो अवस्थामा ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूलाई थप सहज हुनेछ,’ उनले भने ।
ब्याजदर घटाउँदा केही बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतमा कायम गर्न चुनौती हुने उनको भनाइ छ । ‘ब्याजदर घटेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएका बैंकहरूलाई समस्या हुन सक्छ । यस अवस्था त्यस्ता बैंकहरूलाई राष्ट्र बैंकले केही सहयोग गर्न आवश्यक छ,’ उनले भने, ‘साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋण किनिदिएर सहयोग गर्न पर्ने हुनसक्छ ।’
यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।