Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयरबजारमा छायो हरियाली

सेयरबजारमा छायो हरियाली

दैनिकी न्यूज

२०, आश्विन २०७८
सेयरबजारमा छायो हरियाली
images

काठमाडौं । यो हप्ता लगातार दुई दिन घटेको सेयरबजार त्यसपछिका दुई दिनमा भने हरियो देखिएको छ। बुधबार नेप्से ६८.४७ अंकले बढेको छ। त्यस्तै सेन्सिटिभ सूचक १२.७२ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्।

बुधबार सिटिजन्स बैंकको सबैभन्दा धेरै २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख, निर्धन उत्थानको १६ करोड ७८ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ७५ लाख, छिमेक लघुवित्तको ११ करोड १८ लाख र नेपाल बैंकको १० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ भने माइक्रोफाइनान्स र विकास बैंकमा पनि आकर्षण धेरै नै छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ६.५९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स उपसमूहको सूचक ५.८० प्रतिशत र विकास बेंक उपसमूहको सूचक ४.८२ प्रतिशतले बढेको छ।

आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आईएमई लघुवित्त र नयाँ सारथी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।

यसैगरी मिथिल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मैलुंग खोला जलविद्युत, उन्नति सहकार्य लघुवित्त, महालक्ष्मी विकास बैंक र मिर्मिरे लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन इन्फिनिटी लघुवित्त, सीईडीबी हाइड्रोपावर र समता लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज रिडी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीको गिरावट आएको छ। 

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १६:४१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology