काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज (सोमवार) आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् ।
त्यस्तै आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्यबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।
यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरुमध्य आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । यी मध्य ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो । स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुनस् सुचारु भएको थियो ।
कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन हुने छ ।