काठमाडौँ। बिहिबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन अपि पावर कम्पनी र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
अपि पावर कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले भदौ २५ गते साधारणसभामा आह्वान गरेको छ ।
अपि पावरले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
त्यस्तै अपि पावरले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:०.३९३६ को अनुपातमा हुन आउने ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।
त्यस्तै ङादी ग्रुप पावरले पनि साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले असोज ३ गते साधारणसभा आह्वान गरेको । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
त्यस्तै कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पनि पेश गर्ने भएको छ । बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १:२ को अनुपातमा हुन आउने २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।