ललितपुर । ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीको सुन गायब पारेको पाइएको छ । ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले राखेको सुन गायब पारेको भन्दै उजुरी दिएकी छिन् ।
महर्जनले सुनका ३५ थान २४८ ग्राम गरगहना धितो राखी सो बैंकबाट पटक÷पटक गरी २०७१ सालदेखि १४ लाख ऋण लिएकी उनले बताइन ।
गत भदौ ९ गते बाँकी रहेको ऋण ८ लाख ५४ हजारको सावा र व्याज भुक्तानी गरी बैकसँग सुन फिर्ता माग गर्दा नदिएको महर्जनले बैंकलाई आरोप लगाइन । ‘महालक्ष्मी विकास बैंक, कुमारीपटी शाखामा मैले २४८ ग्राम सुन धितोमा राखेको थिएँ, महर्जनले दैनिकीन्युजसँग भनिन, ‘भदौ ९ गते मैले बैंकको सबै सावा व्याज भुक्तानी गर्दा पनि सुन दिइएन, गायब पारिएको छ ।’ यस विषयमा मैले महानगरीय प्रहरी परीसर जाउलाखेलमा जाहेरी दिएको छु, दर्ता भएको छैन ।
महालक्ष्मी विकास बैंकको सुन घोटाला सम्बन्धमा बैंकका प्रतिनिधि र पिडित दुवै महानगरीय प्रहरी परिसर ललितपुरका आएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन । छलफलका लागि बैकका सिइओ बोधराज देवकोटा र बैंक प्रबन्धक सुनिल कुमार नेपाल प्रहरी कार्यालयमा आएको प्रहरीले दैनिकीन्युजलाई बतायो । बैंकका प्रबन्धक नेपाल आफूलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै पन्छिए ।
यसअघि पनि सो बैंककै कर्मचारीको मिलेमतोमा ७ करोड ४८ लाख रूपैयाँ घोटाला गरेको भन्दै प्रहरीले गरी उच्च अदालत पाटनमा बैकिङ कसुरमा २५ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।
कर्जा दिने बेलामा १७ किलो सुनको मूल्यांकन गरेर कर्जा दिइएको थियो । तर कर्जा नतिरेपछि सुन लिलामी गर्न खोज्दा धितोमा राखिएको सुन १७ किलो हुनुपर्नेमा ५ किलो मात्रै भेटिएको थियो ।