काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । 'बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नो श्रीमतीको नाममा खरिद गरेपछि विवादमा परेपछि साउदले मंगलबार पदबाट राजिनामा दिएका हुन् । पदबाट राजिनामा दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले विद्यमान नियम, कानून अनुरुप नै सेयर खरिद गरेको दाबी गरे । अन्तर्राष्ट्रिय कानूनलाई परिभाषित गर्दै आफूलाई दोषारोपण गरिएको भन्दै उनले सरकारले छानबिन समिति समेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि राजिनामा दिएको बताए । ‘हामीहरुसँग भएको कर्मचारी नियमावली र म सञ्चालक पनि भएको नाताले नेपाल स्टक एक्सचेन्जको सञ्चालकको आचारसंहिता अन्तर्गत रेगुलेटेड सेकेण्डरी मार्केटको सेयर मात्रै हामीले किन्न नमिल्ने हो,' उनले भने, 'बाँकी बी रेगुलेटेड सबै कम्पनीको सेयर किन्न मिल्ने हामी कहाँ विद्यमान नियम, कानून छ । र त्यो नियम, कानून अन्तर्गत नै मैले सेयर किनेको थिएँ।' अन्तर्राष्ट्रिय नियम कानूनलाई परिभाषित कार्टेलिङ गरेको भन्ने आरोप आफूलाई लगाइएको उनको दाबी थियो । 'नेपाल स्टक एक्सचेन्ज नियम कानून बनाउने संस्था यो होइन । यो कार्यान्वयन गर्ने संस्था हो । नियमन गर्ने संस्था होइन,' उनले भने, 'तर हाम्रो बुझाइ के भयो भने बजारमा नेप्सेपनि नियामक जस्तै संस्था भएको हुनाले त्यहाँको नियामक प्रमुख पनि यसैमा आवद्ध भएको भन्ने किसिमका विभिन्न समाचार माध्यममा कुराहरु आए । त्यही कारणले मैले आफ्नो नैतिकताका आधारमा राजिनामा दिएँ ।' उनले आफ्नो कार्यकालमा नेपालको लगानीकर्ता र नेपालको पुँजिबजारको विकास र विस्तारका लागि गर्नुपर्ने सबै कोसिस गरेको दाबी समेत गरे । दैनिक रुपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औं अर्बको कारोबार हुनसक्ने अवस्थामा पुर्याएको उनको दाबी थियो ।