काठमाडौं । आज हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयरमा आवेदन दिने अन्तिम रहेको छ।
गत साउन ५ गतेबाट कम्पनीले आफ्ना सेयरधनीका लागि १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीका लागि जारी गरेको छ। हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।
हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत जेठ २७ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते यो हकप्रदलाई निष्कासनको अनुमति दिएको थियो।