काठमाडौं । अरुण काबेली पावरले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो । कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।
कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांशसमेत प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
१७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि कम्पनीको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रहेको छ ।