काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।
सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् । योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।
त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन् ।
कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट, सानिमा लाइफ इन्स्योरेन्सको वेबसाइट तथा मेरो शेयरको वेबसाइटबाट हेर्न सक्नेछन् ।