काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ दशमलव ३ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से सूचक ३ हजार १७८ अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। तीन दिनदेखि बजारमा उच्च अंकको नयाँ रेकर्ड बन्दै आएको छ। यसअघि मंगलबार ३१६२ र बुधबार ३१६३ को रेकर्ड बनेको थियो।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन्।
परिसूचकले रेकर्ड तोडे पनि कारोबार रकमले भने जेठ ३० गतेको रेकर्ड तोड्न सकेको छैन। सो दिन १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
यस दिन विकास बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ। सो समूह नै यस दिन सबैभन्दा धेरै ३४६ अंकले बढेको छ। त्यस्तै बैंकिङ ९, फाइनान्स ३२, लगानी १, जीवन बीमा ३१, उत्पादन ११६ अंकले बढेका छन्। होटल तथा पर्यटन ३९, जलविद्युत २३, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा १२, अन्य ९ र ब्यापार समूह ५९ अंकले घटेका छन्। यस दिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो। श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले बढेको छ।
पाँचथर पावर कम्पनीको मूल्य ४ प्रतिशतले घट्यो। ओरेन्टल होटल, सारथी नेपाल लघुवित्त, एभरेष्ट इन्स्योरेन्स संस्थापक र तारागाउँ रिजेन्सीको मूल्य साढे ३ प्रतिशत बढीले घटेको छ।
यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँ, गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।