काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। सोमबार प्रिअलटमेन्ट सकेर आज विहान काठमाडौंको नक्सालस्थित नारायणचौमा रहेको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजेयस दिन बाँडफाँट गरेको हो।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए, जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत साउन १४ गतेबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको थियो । कम्पनीले विसं २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।