काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ।
कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिन अवधि थप गरी भदौ ८ गतेसम्मका लागि तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।
कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको आधारमा १०० रुपैयाँअंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।