काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही साउन २२ गतेबाट आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा स्थानीयले इलामस्थित नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, एनएमबि बैंक र सिभिल बैंकका शाखाबाट आवेदन दिन सक्नेछन्।
यसैगरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ।
स्थानीयका लागि खुला गरिएको आईपीओको निष्कासन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ २० गते हुनेछ।
सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको थियो।