काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले मंगलबार रेकर्ड ब्रेक गरेको छ । आइतवार ३ हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार ३ हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ । आज राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अंकले बढेर ५७४.३१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३.०५ रुपैयाँमा किनबेच भएका छन् ।
आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।
यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै अपी पावरको ४८ करोड ३२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३४ करोड ७७ लाख रुपैयाँ, नबिल बैंकको ३१ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३० करोड ३० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकको २७ करोड ८३ लाख रुपैयाँ र अरुण काबेली पावरको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज मल्टिपर्पोज फाइनान्स, खानी खोला हाइड्रो, युनाइटेड मर्दी हाइड्रो, नेपाल हाइड्रो, सिनर्जी पावर, जोशी पावर, घलेम्दी हाइड्रो, हिमालय ऊर्जा विकास कम्पनी, युनिभर्सल पावर र जानकी फाइनान्स गरी १० कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बजारमा सबैभन्दा बढी घट्नेको सूचीमा अधिकांश लघुवित्तहरु रहेका छन् । त्यसमा पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको छ ।