काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा आइतवार साँझसम्ममा २ अर्ब ९१ करोड ५३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार साँझ ५ः३० बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकले २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरीदको लागि आवेदन दिएका छन्।
यो सर्वसाधारको लागि विक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५ दशमलव शून्य ३ गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओमा छिटो अवधि अर्थात् आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।
कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो।