Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आइतबार नेप्से ह्वात्तै घट्यो

आइतबार नेप्से ह्वात्तै घट्यो

दैनिकी न्यूज

६, आषाढ २०७८
आइतबार नेप्से ह्वात्तै घट्यो
images

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा पहिरो गएको छ।

आज नेप्से परिसूचक ६३.२८ अंकले घटेर २ हजार ९०५.४६ अंकमा झरेको छ। गत साताको सोमबार नेप्से सूचक हालसम्मकै उच्च ३ हजार २५.८३ विन्दु पुगेको थियो। साथै, शेयर कारोबार रकमले पनि नयाँ रेकर्ड राख्न सफल भएको थियो।

गत आइतबार १९ अर्ब ५५ करोड बढी रुपैयाँको शेयर कारोबार भएको थियो। तर गत बिहीबार शेयर कोरोबार पनि ९ अर्ब १५ करोड रुपैयाँ घटेर १० अर्बको कारोबार भएको थियो।

सोमबार अहिलेसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा पुगेको बजार बिहीवार कारोबार बन्द हुँदा १।२९ अंकले घटेर २ हजार ९६८.४३ अंकमा झरेको थियो। गत बुधबार सर्वसाधारण लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका थिए।

त्यस्तै आज कारोबार भएका कम्पनीमध्ये २०० वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ भने १७ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। त्यसैगरी ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँमा कारोबार भएको छ। विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको शेयरमा धेरै गिरावट आएको छ।

आजको कारोबारमा युनियन हाइड्रोपावर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, बरुण हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएका छन्।

त्यसैगरी गोर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत् कम्पनी, तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य भने बढेको छ।

यसरी पछिल्लो सातादेखि लगातार शेयर बजार पहिरो जानुको कारक तत्व भने नेपाल धितोपत्र बोर्ड भएको छ। शेयर बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर शेयर मूल्य बढाएको र लगानीको लागि जोखिम रहेको भन्दै गत मंगलबार ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेर ‘कारक’ को भूमिका निर्वाह गरेको देखिन्छ।

बोर्डले शेयरमूल्य अचाक्ली बढेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि सर्वसाधारण लगानीकर्ताको मनोबल निकै कमजोर भएको हो। लगानीकर्ताको मनोबल कमजोर भएकाले त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको विश्लेषकहरुले बताएका छन्।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - १८:०३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology