काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसुचकमा साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आईतबार नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।
यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरको चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।
आइतबार नेप्से परिसूचक १२.५४ अंक बढ्दै २८२७.९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक बढेर ५०७.०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँमा किनबेच भएका छन्।
बजारमा आईतबार कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह उकालो लागेका छन् । बजारमा कारोबार भएका समुहमध्ये सबैभन्दा बढि उकालो लागेका विकास बैंक र होटल समुहको परिसुचक क्रमशः २५५ र १३५ अंकले उकालो लागेका हुन् । यस्तै निर्जिवन बीमा समुहको परिसुचक ८३ अंकले बढ्दा जिवन बीमा समुहको परिसुचक ९६ अंकले उकालो लागेको छ ।
नेप्सेका अनुसार आज १८ कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज सेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्योति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टल होटल रहेका छन् ।
साथै आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्यमा उच्च बृद्धि आएको छ ।
त्यसैगरि, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।