Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सार्वजनिक संस्थानबाट सरकारलाई चौध अर्ब नौ करोड लाभांश

सार्वजनिक संस्थानबाट सरकारलाई चौध अर्ब नौ करोड लाभांश

दैनिकी न्यूज

१५, जेठ २०७८
सार्वजनिक संस्थानबाट सरकारलाई चौध अर्ब नौ करोड लाभांश
images

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६–०७७ मा १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त गरेको छ । यो अघिल्लो आवको तुलनामा ४८.८७ प्रतिशतले बढी हो । शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थितिको समीक्षा, २०७८ मा उल्लेख भएअनुसार उक्त अवधिमा संस्थानहरूको कुल सञ्चालन आय चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख पुगेको छ । यो अघिल्लो आवको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै संस्थानको खुद नाफामा भने अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएर ४४ अर्ब २९ करोड ८२ लाख रुपियाँ पुगेको छ । कोेभिड–१९ को सङ्क्रमणका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा केही सङ्कुचन आएको मन्त्रालयले स्पष्ट पारेको छ ।

समीक्षा अवधिमा संस्थानको सञ्चित नाफा अघिल्लो आव २०७५र७६ को तुुलनमा १८.१९ प्रतिशतले बढेर एक खर्ब नौ अर्ब ७४ करोड ८० लाख पुगेको छ । सञ्चित नोक्सानीमा भने ०.९३ प्रतिशतले कमी आएर ३४ अर्ब २३ करोड ६१ लाख कायम हुन पुगेको छ । सबै संस्थाको सञ्चित नाफा २९.५३ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । हाल अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २४ संस्थान नाफा आर्जन गर्र्न सफल भएका छन् । १८ संस्थानले घाटा बेहोरिरहेका छन् । जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड सुरुवाती अवस्थामा रहेका छन् ।

सार्वजनिक संस्थामा सरकारको सेयर पुँजी ५० प्रतिशतभन्दा बढी रहेको हुन्छ । औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा चार, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा पाँच, जनोपयोगी क्षेत्रमा पाँच र वित्तीय क्षेत्रमा नौ गरी ४४ सार्वजनिक संस्थाका रूपमा छन् । तीमध्ये ३८ सार्वजनिक संस्था मात्र सञ्चालनमा छन् ।

बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेसनल कन्स्ट्रक्सन कम्पनी र नेपाल ओरिएन्ट म्याग्नेसाइटले कुनै पनि व्यावसायिक कारोबार गरेका छैनन् । नेपाल मेटल कम्पनी स्थापना भए पनि त्योे पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले सार्वजनिक संस्थानलाई निजीकरण गर्दै जाने बताउँदै आए पनि त्यसले अपेक्षित गति लिन नसकेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा सार्वजनिक संस्थामा सरकारको लगानी पनि बढेको छ । अघिल्लो आवको तुलनमा आव २०७६र७७ मा ११.८२ प्रतिशतले वृद्धि भएर पाँच खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ ।

त्यस्तै सेयर लगानी थप गरिएकाले कुल लगानी बढेको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले ६।१७ प्रतिशतले सेयर लगानी बढाएर दुई खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख पु¥याएको छ । त्यस्तै ऋण लगानी पनि १९।७९ प्रतिशतले वृद्धि गरेर दुई खर्ब ३० अर्ब ८९ करोड ५१ लख पुगेको सर्वेक्षणमा उल्लेख छ ।

चार सार्वजनिक संस्थाको २२ आर्थिक वर्षको नियमित लेखापरीक्षण नभएकाले वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन हुन नसकेको सर्वेक्षणमा उल्लेख छ ।

सञ्चालनमा रहेका संस्थानमध्ये नेपाल स्टकमा सूचीकृत छ संस्थाले २०७७ असार मसान्तसम्म बजार पुँजीकरणमा २.१८ प्रतिशतले वृद्धि गरेका गरेका छन् । समीक्षा अवधिमा नागरिक लगानी कोष र नेपाल बैङ्क लिमिटेडको बजार पुँजीकरण बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनी, कृषि विकास बैङ्क, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय बीमा कम्पनीको २०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा प्रतिसेयर मूल्य घटेको छ ।

यो खबर गोरखापत्र दैनिकमा राधा चालिसेले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०७:५२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology