Logo

शनिवार, आश्विन २४ गते २०८३

images

वैशाख १२ गतेयता सुनको आयात ठप्प

वैशाख १२ गतेयता सुनको आयात ठप्प

दैनिकी न्यूज

११, जेठ २०७८
वैशाख १२ गतेयता सुनको आयात ठप्प
images

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महीनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महीना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

‘वैशाख विवाहको समय भएकाले सुनका गरगहना किन्ने ग्राहक पनि बढी हुन्छन् । तर, निषेधाज्ञा शुरू भएपछि सुनका गरगहनाको व्यापार पनि त्यति भएन,’ उनले भने, ‘व्यापार नभएपछि सुनको आयात घटेको हो । चैत १२ गतेयता त सुनको आयात नै गरिएको छैन ।’

नेपालमा सुन किन्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । तर, वाणिज्य बैंकहरूले महासंघको सिफारिशका आधारमा सुन आयात गर्ने गरेका छन् । अहिले निषेधाज्ञाका कारण व्यवसाय पनि नभएकाले बैंकहरूलाई सुन आयात गर्न नभनिएको महासंघको भनाइ छ ।

चालू आवको १० महीनामा नेपालमा २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ । सो अवधिमा ३ हजार १८ केजी सुन आयात भएको हो ।

वैशाखमा सुनको आयात कम भए पनि १० महीनामा भने सुनको आयात गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो ।

चालू आवको समीक्षा अवधिमा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख र यूएईबाट १८ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ ।

यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०६:२६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology