काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा रू. ५० अर्ब ७४ करोड नाफा कमाउन सफल भएका छन् ।
कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि बैंकहरूले गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा खुद नाफा १२ दशमलव १४ प्रतिशत वृद्धि गरेका छन् । यसअवधिमा बैंकहरूले करीब साढे ५ अर्ब रुपैयाँ थप कमाएका छन् । बैंकले यसअघि उठ्न बाँकी ब्याज ९प्रोभिजनिङ० बाट र शेयर लगानीबाट आम्दानी गर्दा समग्रमा खुद नाफा बढ्न योगदान पुगेको बैंकरहरू बताउँछन् ।
यो वृद्धि गत आवको तेस्रो त्रैमासको तुलनामा राम्रो भएको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको थियो अर्थात रू। १ अर्ब ५ करोड मात्रा थप नाफा कमाएका थिए । त्यसअवधिमा खुद नाफा करीब रू। ४५ अर्ब थियो । यसको तुलनामा चालू आवमा सन्तोषजनक नाफा भएको बैंकरहरू बताउँछन् ।
बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज र विभिन्न सेवा शुल्क हुन् । गत आवको तुलनामा यसपटक ब्याज आम्दानीभन्दा सेवा शुल्कको आम्दानी बढी देखिएको छ । बैंकहरूले चैतसम्ममा ९५ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोहीअवधिमा यस्तो आम्दानी ९८ अर्ब ८ करोड रुपैयाँ थियो ।
चालू आवको ९ महीनासम्ममा खुद शुल्क आम्दानी रू। १९ अर्ब ६३ करोड भएको बैंकको वित्तिय विवरणले देखीन्छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी रू। १७ अर्ब ७५ करोड थियो ।
यसपटक ६ अर्ब ६८ अर्ब कर्जा प्रवाह बढे पनि बैंकहरूको ब्याज आम्दानी घट्नुको कारण कर्जा–निक्षेप ब्याजदर अन्तर कम हुने हो । बैंकहरूको बीचमा तीव्र प्रतिस्पर्धा हुँदा कर्जा–निक्षेप ब्याजदर अन्तर घटेकाले समग्रमा बैंकहरूको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘कर्जा प्रवाह बढेअनुसार ब्याज आम्दानी धेरै बढ्नुपथ्र्यो तर यसपटक बढेन ।’
यो खबर आजको आर्थिक अभियानमा ममता थापाले लेखेका छन् ।