काठमाडौं । रुरु जलविद्युत लिमिटेडको आईपीओ पहिलो दिन नै ११ गुणा बढी आवेदन परेको छ।
शुक्रबार सवा ४ बजेसम्म आईपीओमा कुल २ लाख ६७ हजार ९४३ आवेदकबाट ४१ लाख २६ हजार कित्ता माग भएको सीडीएससीले जनाएको छ। जुन ४९ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको हुन आउँछ। मागको हिसाबले यो आईपीओमा पहिलो दिन नै झन्डै ११ गुणा बढी कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ गरेको छ। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
रुरु जलविद्युतको आईपीओमा निष्कासन बन्द छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।