Logo

शनिवार, आश्विन २४ गते २०८३

images

वैशाखदेखि माथिल्लो तामाकोसीको बिजुली

वैशाखदेखि माथिल्लो तामाकोसीको बिजुली

दैनिकी न्यूज

२८, फाल्गुण २०७७
वैशाखदेखि माथिल्लो तामाकोसीको बिजुली
images

काठमाडौँ । सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ ।

केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । “वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,” उहाँले भन्नुभयो, “करिब १५ दिन लाग्ने यो परीक्षणपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ ।”

अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्स फर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ ।

त्यसो त चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको छ तर समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियता देखाइरहेका छन् । “परीक्षण त्रुटिरहित होस् भन्नेमा हामी सचेत छौं,” श्रेष्ठले भन्नुभयो, “यो पर्याप्त समय लिएर सचेत भएर गर्नुपर्ने काम भएकाले समयसीमाको बन्धनमा हामी बाँधिनु हुँदैन ।”

त्यसो त पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै २०६७ भदौदेखि मुख्य निर्माणको काम थालिएको थियो तर विभिन्न खाले राजनीतिक तथा सामाजिक अवरोध, भूकम्प, भारतीय नाकाबन्दीदेखि ठेकेदार कम्पनीको कमजोरीले आयोजना पछाडि धकेलिएको हो । निर्माणका क्रममा आएका अनपेक्षित भौगर्भिक समस्याले आयोजना निर्माणको गतिलाई ढिला बनाएको थियो ।

पेनिस्टक पाइप जडान गर्नुपर्ने ठेकेदारले दक्षतापूर्ण कार्य गर्न नसक्दा पनि ढिला भएको हो । “आयोजना विभिन्न कारणले ढिला भयो तर गौरव गर्नुपर्ने विषय पनि छ,” श्रेष्ठ भन्नुहुन्छ, “निर्माणमा संलग्न स्वदेशी समूहको आत्मविश्वास बढेको छ, ज्ञान र सीप प्राप्त भएको छ । अब दुई हजार मेगावाटसम्मका आयोजना बनाउन सक्ने आँट हामीलाई मिलेको छ ।”

बग्ने नदी अर्थात् रन अफ द रिभरमा आधारित ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत दुई हजार २८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको यो आयोजनाको बाँध क्षेत्र मात्र एक हजार ७४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ । भूमिगत विद्युत्गृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजना निर्माण गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपियाँ निर्धारण गरिएको थियो तर निर्माण अवधि लम्बिँदै जाने, अमेरिकी डलर पनि महँगिँदै जाँदा आयोजनाको लागत भने बढेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०७:१४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology