Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नयाँ निर्जीवन बीमा कम्पनी स्थापना हुँदै

नयाँ निर्जीवन बीमा कम्पनी स्थापना हुँदै

दैनिकी न्यूज

२८, फाल्गुण २०७७
नयाँ निर्जीवन बीमा कम्पनी स्थापना हुँदै
images

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने निर्णय गरेको अवस्थामा बजारमा भने नयाँ निर्जीवन बीमा कम्पनी स्थापनाको तयारी अगाडि बढेको छ । बीमा समितिले ३ वर्षअघि नै नयाँ निर्जीवन र जीवन बीमा कम्पनीलाई लाइसेन्स नदिने निर्णय गरेको थियो । तर, बजारमा भने जेन्यून नामक नयाँ निर्जीवन बीमा कम्पनी स्थापना गर्ने तयारी अगाडि बढाइएको छ ।

यसको तयारी व्यावसायिक घरानाबाट नभएर व्यक्तिबाटै भएको छ । बीमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्कीले उक्त निर्जीवन बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । नयाँ निर्जीवन बीमा कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

प्रस्तावित निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. १ अर्बको हुनेछ । त्यसमा ४० प्रतिशत अर्थात् रू. ४० करोड शेयर व्यक्ति तथा निजीक्षेत्रलाई दिइनेछ । यसैगरी सूचीकृत संस्था र सर्वसाधारणलाई ३०/३० प्रतिशत अर्थात् ३०/३० करोड रुपैयाँ शेयर दिइने कार्कीको भनाइ छ । कम्पनी सञ्चालनमा आएपछि आईपीओ जारी गरेर सर्वसाधारणबाट शेयर उठाइने उनले बताए ।

उनका अनुसार कम्पनीका लागि व्यक्ति तथा निजीक्षेत्रबाट रू. ४० करोड बराबरको लगानीको प्रतिबद्धता आइसकेको छ । सूचीकृत संस्थाहरूलाई पनि लगानीको प्रस्ताव पठाइएको उनले बताए । ‘सूचीकृत संस्थाहरूमा सञ्चालक समितिबाटै यस सम्बन्धमा निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले लगानीको प्रतिबद्धता आउन ढिला भएको हो,’ उनले भने, ‘मौखिक रूपमा उनीहरूबाट लगानीको प्रतिबद्धता आएको छ ।’

संस्थागत लगानीमा निजीक्षेत्रतर्फको शेयरमा ठूला व्यावसायिक घरानाभन्दा पनि साना लगानीकर्तालाई बढी प्राथमिकता दिइएको कार्कीले बताए ।

संस्थागत लगानीतर्फ एक व्यक्ति तथा संस्थाले न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको र सोहीअनुसार नै लगानी उठाइएको उनको भनाइ छ । ‘हामीले ठूला लगानीकर्ताभन्दा पनि साना लगानीकर्तालाई अवसर दिने गरी लगानीको मोडालिटी बनाएका हौं । र, सोही अनुसार नै लगानी उठाएका छौं,’ उनले भने, ‘साना लगानीकर्ताबाट ठूला कम्पनी स्थापना गर्न सकिन्छ भनेर देखाउन पनि यस्तो मोडलमा लगानी जुटाउन लागिएको हो ।’

कम्पनी स्थापनाको तयारी लगभग अन्तिम तयारीमा रहेको उनको भनाइ छ । प्रबन्धपत्र तथा नियमावली बनाउने लगायत काम पनि सकिसकेको उनले बताए ।

‘बीमा समितिले नयाँ बीमा कम्पनीलाई इजाजत नदिने भनेर यसअघि निर्णय त गरेको छ । तर, अब हामीले समितिमा व्यावसायिक योजना बताएर लाइसेन्स खुलाउन कन्भिन्स गर्छौ र दर्ता प्रक्रिया अगाडि बढाउँछौं,’ उनले बताए ।

विशेषगरी आफूहरूले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर कम्पनी स्थापना गर्न लागेको उनको भनाइ छ । ‘नेपालमा स्वास्थ्य बीमाको ठूलो आवश्यक छ । तर, बीमा कम्पनीहरूले यसलाई प्राथमिकतामा राखेका छैनन् र यसको व्यवसायमा घाटामा बेहोर्दै आएका छन्,’ उनले भने, ‘त्यसमाथि स्वास्थ्य बीमामा विभिन्न समस्या पनि छन् । यस अवस्थामा स्वास्थ्य बीमालाई नै प्रवर्द्धन गर्नेगरी कम्पनी स्थापना गर्न लागेको हो । यसमा शुरूका वर्ष केही नोक्सानी भए पनि पछि नाफा नै हुने आश गरेका छौं ।’

यसका अलावा कृषिबीमालाई प्राथमिकता दिइने उनको भनाइ छ । ‘यद्यपि, निर्जीवन बीमाका अन्य प्रडक्टको पनि व्यवसाय गर्छौं नै । तर, प्राथमिकता भने स्वास्थ्य बीमालाई नै दिन्छौं,’ उनले भने, ‘साथै, स्वाथ्य बीमाको दाबीसम्बन्धी व्यवस्थालाई सरल र नगदरहित बनाउँछौं । यस्तो भएपछि ग्राहकलाई पनि समस्या हुँदैन ।’

यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०६:५७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology