काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
एभरेष्ट इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन २० गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ। हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ। ८ प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ।
त्यस्तै रिलायन्स फाइनान्स लिमिटेडले पनि आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतशित नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन २० गते सम्पन्न फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ। हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।