काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो । आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।