काठमाडौं । पछिल्लो केही समय यता ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक, यस साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक ४० दशमलव ६४ अंक बढेर २ हजार ५१५ दशमलव शून्य ३ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यसैगरी सेन्सेटिभ इण्डेक्स ६ दशमलव ४७ अंक, फ्लोट इण्डेक्स २ दशमलव ८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १५ अंक बढेको छ ।
यस दिन बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरु बढेका छन् । यो दिन जीवन बीमा समूह सर्वाधिक ३५९.१७ अंकले बढेको छ । निर्जीवन बीमा समूह १८३.८३ अंक, बैंकिङ समूह २६.८२ अंक, व्यापार समूह ९७.३४ अंक, होटेल तथा पर्यटन समूह ५५.८१ अंक, विकास बैंक समूह ३८.२२ अंक, जलविद्युत् समूह ३०.७९ अंक, वित्त समूह २३.०६ अंक, उत्पादन तथा प्रशोधन समूह ६८.३१ अंक, अन्य समूह २७.६२ अंक, लघुवित्त समूहमा ८१.४९ अंक, म्युचुअल फन्ड समूह ०.०३ अंक र लगानी समूह १.८६ अंकको बढोत्तरी भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । शिखर इन्स्योरेन्सको ३० करोड ७ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकको २० करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ७२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १८ कराड ५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १७ करोड ७९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९८ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ३९ लाख रुपैयाँ र प्रभु बैंकको १३ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ ।
यो दिन सिजिटन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुले सर्वाधिक गुमाए । यो कम्पनीको इकाइमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।