काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा गोलाप्रथाद्वारा भएको बाँडफाँटमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३५३ जनाको आवेदन रद्ध भएको छ । रितपूर्वक आवेदन दिएर योग्य भएका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकमध्ये पनि १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ ।
कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू। १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिएको छ ।
आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुगेको छ । आर्थिक वर्ष २०७६–०७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५७.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ रहेको छ ।