काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९४ अंकले बढेर नेप्से परिसूचक २ हजार ६११.४५ अंकमा रोकिएको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले बढेर ४७५ बिन्दुमा पुगेको छ ।
८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ६९ करोड ४१ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ४१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ग्लोबल आईएमई बैंकको ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबार बैंकिङ, व्यापार, विकास बैंक, अन्य समूह र म्युचअल फण्ड उपसूचक बढ्दा होटल, जलविद्युत, वित्त, जीवन तथा निर्जीवन र लघुवित्तको घटेको छ । वाणिज्य बैंक उपसूचक २९.७७, विकास बैंक सूचक ३.५६, व्यापार ६९ र अन्य परिसूचक १० अंकले बढेको नेप्सेले जनाएको छ ।
सो दिन निफ्राका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ९.९६ प्रतिशत कमाएका छन् । कम्पनीको दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै निरन्तर सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, बाँकी तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा किनबेच भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८९, हिमालय उर्जा विकास कम्पनीको ९.८३ र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ ।