काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि सर्वसाधारणलाई विक्री खुल्ला भएको छ । लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा माघ ३० गतेदेखि फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म म्याद थप हुनेछ।
लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।