काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.११ अंक घटेर २५२६.९२ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेर ४६३.४७ विन्दुमा झरेको छ। यस दिन फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ ।
यो दिन राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले घटेर ४६३.४७ को विन्दुमा कारोबार बन्द भएको छ । यस दिन बजारमा २०६ कम्पनीको ७२ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार बढी हो ।
बैंकिङ्ग, विकास बैंक र म्युचल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढे पनि अन्य उपसमूहका परिसूचक ओरालो लाग्यो । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.६ प्रतिशत, विकास बैंकको ०.७७ र म्युचुअल फण्डको ०.२२ प्रतिशत बढेको छ । कारोबारमा आएका लघुवित्त र होटल उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको यस दिन ५६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंक, कुमारी बैंक र प्रभु बैंकको ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
चालू वर्षको मौद्रिक नीतिको समीक्षा नजिँकिदै गर्दा लगानीकर्ताहरु बजारमा अब के होला भन्ने आशंकामा छन् । उता प्रणालीमा पनि बेलाबेलामा आउने समस्याले सेयर कारोबारलाई प्रभावित बनाएको छ ।