काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने रकम ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन २ र ढिलोमा फागुन १२ गतेसम्म रहेको छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ, आईपीओ निष्कासनपश्चात उक्त पूँजी १० करोड पुग्नेछ ।