काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ ५० कित्तासम्म माग गर्ने सबैले पाउने भएका छन् ।
कम्पनीले बुधवार आईपीओको प्रि - अलोटमेण्ट सम्पन्न गरी १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको जानकारी दिएको हो । कुल आवेदकमध्ये ६ हजार २७६ जनाको आवेदन भने रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले बताएको छ ।
क्यापिटलले १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै शेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको शेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरुमा गोलाप्रथाद्धारा बाँडफाँट गरिनेछ । आईपीओ बाँडफाँट विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे हुनेछ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू। ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू। १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । उक्त कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो । आर्थिक अभियानबाट