काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.०४ अंकले बढेर २ हजार ४४०.८७ को विन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ४५१.८२ को विन्दुमा झरेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँमा कारोबार भएको छ। यद्यपि, यो कारोबार रकम आइतरबारको ९ अर्ब ३७ करोडको तुलनामा केही कम हो ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा मात्र बढेका छन् भने बाँकी ७ वटा घटेको छ । यो दिन व्यापार समूहम सबैभन्दा बढी ९०.७७ अंकले बढेको छ। निर्जीवन बीमा समूह ७९.३४ अंक, अन्य समूह ३१.६ अंक, बैंकिङ समूह २४.२२ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन् । उता जीवन बीमा समूह सबैभन्दा बढी ८८।.५८ अंकले घटेका छ । लघुवित्त समूह ४९.६ अंक, होेटेल्स् समूह २४.०७ अंक, विकास बैंक समूह २०.७७ अंक, जलविद्युत् समूह ३.५६ अंक, वित्त समूह ६.७८ अंक र उत्पादन तथा प्रशोधन समूह १७.९१ अंकले गिरावट आएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३३ करोड १७ लाख, एनसीसी बैंकको ३१ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २९ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ७ लाख रुपैयाँ, कुमारी बैंकको २२ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १७ करोड ५५ लाख रुपैयाँ र नेको इन्सुरेन्सको १७ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नागरिक लगानी कोषको सेयरमूल्यमा १० प्रतिशत तथा गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेसनल हाइड्रोपावर र हिमालयन पावर पाटर्नरको सेयरमूल्य पनि ९ प्रतिशत, गोर्खाज फाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।
यो दिन श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।