काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख २९ हजार ४६० जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार माघ ६ गते साँझ ६ बजेसम्ममा ती आवेदकहरुबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा २ दशमलव ३९ गुणा बढी हो । आवेदकले यो संख्यालाई आधार मान्दा ४० देखि ५० कित्तासम्म शेयर पाउने देखिन्छ ।
माघ २ गतेदेखि विक्री खुला भएको यो आईपीओमा आवेदन दिने अवधि सकिएको छ । छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द भएको हो ।
कम्पनीले रू। ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैया रहेको कम्पनीको हाल चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ ।
यसअघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजार आवेदकले आईपीओका लागि आवेदन दिएका थिए । आर्थिक अभियानबाट