काठमाडौं । चन्द्रागिरि हिल्सको आइपिओ भर्नेलाई केबलकारमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीको ११औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो । साधारणसभाको अवसरमा चन्द्रागिरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरि हिल्सले सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेकाले आवेदन दिने सबैलाई सम्मानस्वरुप यो व्यवस्था गरेको जनाएको छ । छुट पाउने आवेदन दिएको प्रमाण पेस गर्नुपर्छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।