काठमाडौं । गत शुक्रवारदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा सोमवारसम्म १५ गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमवार साढे ५ बजेसम्म २ करोड १४ लाख १३ हजार १५० कित्ता शेयरका लागि माग भएको हो ।
कम्पनीको शेयरमा १० लाख ८५ हजार ६९ ओटा आवेदनबाट २ करोड १४ लाख १३ हजार १५० कित्ता अर्थात रू। २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार कित्ताको १५ दशमलव शून्य ८ गुणा बढी हो ।
कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुनेछ ।