काठमाडौं धितोपत्र बजारमा भएको धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ लागु गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ। बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति प्रदान गरेको हो ।
सिडिएससीले हाल कायम तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने व्यवस्था हुने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ संशोधनको स्वीकृति मागेको थियो ।
धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार र उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको बोर्डले बताएको हो।
उक्त व्यवस्था बमोजिम शेयर विक्री कर्ताले आफुले विक्री गरेको शेयर बराबरको रकम तीनदिनभित्र पाइसक्नुपर्नेछ भने खरिद कर्ताको शेयर खातामा पनि तीनदिनभित्रै शेयर जम्मा भैसक्नुपर्नेछ ।
यस व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बताईएको छ।
धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टी प्लस टू कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।