काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर माघ १३ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते बुकक्लोज गर्दैछ। यसअनुसार पुस २८ गतेसम्म कायम रहने बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।
बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस २० गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।
हाल ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको यस हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।