Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कर्जा प्रवाह तीव्र, सातामै २२ अर्ब कर्जा लगानी बढ्यो

कर्जा प्रवाह तीव्र, सातामै २२ अर्ब कर्जा लगानी बढ्यो

दैनिकी न्यूज

२२, पौष २०७७
कर्जा प्रवाह तीव्र, सातामै २२ अर्ब कर्जा लगानी बढ्यो
images

काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्षको शुरूमै कोभिड महामारीबाट उद्योग तथा व्यवसायहरू थला परेको भए पनि गतवर्षको तुलनामा कर्जा प्रवाह वृद्धिदर उत्साहजनक देखिन थालेको हो ।

पुसको शुरूदेखि साप्ताहिक कर्जा प्रवाह रू. १७ अर्बदेखि रू. २२ अर्बको हाराहारीमा बढिरहेको छ । गतवर्षको यही अवधिमा यस्तो वृद्धि रू। ३ अर्बदेखि ७ अर्बसम्म मात्र भएको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । कोभिडबाट थलिए पनि अहिले बजारमा चहलपहल बढेसँगै कर्जा प्रवाहमा राम्रो सुधार देखिएको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार पुसको पहिलो र तेस्रो साता समानान्तर रूपमा २२ अर्ब रुपैयाँले कर्जा वृद्धि भएको छ । पुसको तेस्रो साता सो रकममा कर्जा थपिँदा कुल कर्जा ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, पुसको दोस्रो साता रू। १७ अर्बले कर्जा वृद्धि हुँदा कुल ३१ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गतवर्षको तुलनामा चालू आवमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह झन्डै २० प्रतिशतले बढी भएको संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । उनका अनुसार कोभिडले लामो समय अर्थतन्त्र चलायमान हुन नसके पनि चाडपर्वपछि भने आर्थिक गतिविधिहरू एकदमै बढ्न थालेकाले कुनै बेला ऋणात्मक भएको कर्जा वृद्धिमा अहिले धेरै सुधार आउन थालेको छ । ‘गत चैतदेखि भदौसम्मको ६ महीनामा कर्जा प्रवाह खासै हुन सकेको थिएन । असोजदेखि यता मात्र कर्जामा माग बढ्न थालेको हो,’ उनले भने, ‘पर्यटनबाहेक सबैतिर कर्जाको माग बढी आएको छ । साथै, प्रतीतपत्र (एलसी)हरू धेरै खुल्न थालेका छन् । बैंकहरूमा सबै खालका कारोबार बढ्न थालेको छ ।’

चालू आवको शुरूमा कर्जा प्रवाहमा संकुचन आउँदा गत साउन महीनामा २५ अर्ब रुपैयाँले कर्जा प्रवाह ऋणात्मक भएको थियो । भदौमा भने रू. २६ अर्ब कर्जा वृद्धि भई रू. २९ खर्ब ४ अर्ब रुपैयाँ पुगेको थियो । यस्तै, असोजमा रू. १ खर्ब ३१ अर्ब थप कर्जा वृद्धि हुँदा रू ३० खर्ब ३५ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह भएको थियो । मङ्सिरमा थप ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो ।

अझै पनि कर्जाको माग अपेक्षाअनुसारको नबढेको हुँदा बजारमा अधिक तरलताको स्थिति आएको बैंकरहरूको भनाइ छ । बजारमा अझै १ खर्ब ७६ अर्ब रुपैयाँको हाराहारीमा लगानीयोग्य पूँजी )तरलता) को स्थिति छ । अधिक तरलताका कारण कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) खुकुलो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतवारसम्म बैंकहरूको सीसीडी ७३ दशमलव ६३ प्रतिशतसम्म रहेको छ । बैंकहरूले कुल निक्षेपको ८५ प्रतिशतसम्मको कर्जा लगानी गर्न पाउने व्यवस्था छ । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०७:२२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology