Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज ५ वटा कम्पनीको शेयर मूल्य समायोजन, हेर्नुहोस् कुन कम्पनीको कति ?

आज ५ वटा कम्पनीको शेयर मूल्य समायोजन, हेर्नुहोस् कुन कम्पनीको कति ?

दैनिकी न्यूज

१४, पौष २०७७
आज ५ वटा कम्पनीको शेयर मूल्य समायोजन, हेर्नुहोस् कुन कम्पनीको कति ?
images

काठमाडौं । आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत ५ कम्पनीहरुको शेयर मूल्य समायोजन भएको छ । यी कम्पनीहरुले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको नेप्सेले जनाएको छ । समायोजित मूल्यकै आधारमा आजको पहिलो कारोबार हुनेछ ।

नेप्सेका अनुसार नागरिक लगानी कोषको ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य २ हजार ७८४ रुपैयाँ कायम गरेको छ । कोषको सोमबार ५ हजार ८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

त्यसैगरी, हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ५६१ रुपैयाँ निर्धारण भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको पुस २७ गते बस्ने साधारण सभाको लागि आज बुक क्लोज गरेको छ । जसअनुसार सोमबार पुस १३ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ । सोमबार बैंकको शेयर प्रतिकित्ता ३८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ । सोमबार बैंकको शेयर प्रतिकित्ता २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।


त्यस्तै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस समायोजन पश्चात प्रति कित्ता शेयरमूल्य ९८४ रुपैयाँ कायम भएको छ । सोमबार लघुवित्त कम्पनीको शेयर प्रतिकित्ता ११७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०८:३२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology