Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोरोना बीमामा डेढ अर्बभन्दा बढी भुक्तानी

कोरोना बीमामा डेढ अर्बभन्दा बढी भुक्तानी

दैनिकी न्यूज

१२, पौष २०७७
कोरोना बीमामा डेढ अर्बभन्दा बढी भुक्तानी
images

काठमाडौं । कोरोना बीमामा शुक्रवारसम्म १५ हजारभन्दा बढी ग्राहक (कोरोना संक्रमण भएका बीमित) ले दाबी भुक्तानी पाएका छन् । बीमा समितिको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

शुक्रवारसम्म कुल १५ हजार ८७९ जनाले दाबी भुक्तानी पाएका हुन् । रकमका आधारमा रू। १ अर्ब ५४ करोड ९३ हजार लाख भुक्तानी भएको छ । साथै, ७९ ओटा आवेदन दाबीका लागि अयोग्य ठहरिएको बीमा समितिले बताएको छ ।

समितिको पछिल्ला तथ्यांक अनुसार पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी चुस्त रूपमा अगाडि बढेको छ । केही समयअघि कोरोना बीमाको दाबी रकम करोडको मात्रामा थियो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भइरहेको बताए ।

पहिला बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । विभिन्न क्षेत्रबाट यसको आलोचना हुन थालेपछि अहिले दाबी भुक्तानी चुस्त ढंगले भएको समितिको भनाइ छ ।

कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर कोरोना बीमाको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएका थिए । त्यसबेला १ हजार ७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्ममा १५ हजारभन्दा बढीले दाबी पाएका छन् । समितिका अनुसार कोरोना बीमा दाबीका लागि हालसम्म २९ हजार २७० ओटा पूर्ण कागजपत्र सहितको आवेदन आएका छन् ।

यस्तै, थप ७ हजार ४४१ आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । त्यसमध्ये ३ हजार ८८६ ओटा आवेदन प्रमाणीकरण भएर आएको छ भने ३ हजार ५५५ आवेदन प्रमाणीकरणको प्रक्रियामा रहेको बताइएको छ ।

कागजपत्र पूरा नभएपछि २ हजार ५३ ओटा आवेदन बीमा कम्पनीहरूलाई पठाइएको छ । साथै, ४ हजार ३१९ ओटा आवेदन बीमा पुलमा भेरिफिकेशन गर्ने काम भइरहेको समितिले जानकारी दिएको छ ।

कोरोना बीमामा बीमाशुल्क भन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । बीमाशुल्क बापत करीब १ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । तर, दाबी भने डेढ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या कम छ । तर, दाबी आवेदन भने आइरहेका छन् । परिमाणस्वरूप बीमाशुल्क भन्दा दाबी रकम बढी भएको हो ।

बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रमको शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

यो खबर आजको आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०६:१४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology